काठमाडौं, १३ मंसिर। साउदी अरबमा देखिएको सुरक्षा चुनौतीका कारण नेपालसहित विभिन्न देशका वायुसेवा कम्पनीले त्यहाँका गन्तव्यमा हुने उडान स्थगन तथा रद्द गर्ने अवधि लम्ब्याएका छन्।
यमनका हुथी विद्रोहीले साउदी अरबका विमानस्थल तथा पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेपछि अन्तर्राष्ट्रिय हवाई सेवा प्रभावित भएको हो। सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल र भारतका विभिन्न एयरलाइन्सले उडान कटौती गरेका छन्।



नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान पटकपटक रद्द गर्दै आएको छ। निगमले पछिल्लो पटक नोभेम्बर २८ र २९ अर्थात् मंसिर १२ र १३ गतेका दुवै उडान रद्द गरेको जनाएको छ। अर्को उडान मिति भने सार्वजनिक गरिएको छैन।
निगमका अनुसार यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै साउदी अरबको वर्तमान सुरक्षा अवस्थाका कारण उडान स्थगित गरिएको हो। प्रभावित यात्रुले टिकटको मिति निःशुल्क परिवर्तन गर्न वा टिकट रद्द गरी पूरा रकम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ।
यसैगरी, भारतका एयर इन्डिया, एयर इन्डिया एक्सप्रेस, इन्डिगो र अकासा एयरले पनि साउदी अरबका विभिन्न गन्तव्यमा उडान स्थगनको अवधि थप गरेका छन्। अकासा एयरले विशेषगरी रियाद र जेद्दाहका लागि हुने उडान स्थगन लम्ब्याएको छ।
यसअघि अक्टोबरमा रियाद विमानस्थललाई लक्षित गरी आक्रमण भएपछि विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सले साउदी अरबका लागि उडान रद्द गरेका थिए। विमानस्थल पुनः सञ्चालनमा आए पनि सुरक्षा प्रतिबन्ध र नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिनुपर्ने व्यवस्थाका कारण हवाई सेवा पूर्ण रूपमा नियमित हुन सकेको छैन।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














