१३ मंसिर, काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौंको ठमेलबाट ३ किलो कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ८७ वर्षीय दक्षिण कोरियाली नागरिक सुक चोन लि र २८ वर्षीय भारतीय नागरिक दीपक वागमारे रहेका छन्।



प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१७, ठमेलस्थित जीपी रोडको एक होटलबाट कोरियाली नागरिक लिलाई पक्राउ गरिएको हो। उनले आफ्नो ह्यान्ड ब्यागमा फल्स बटम बनाएर ३ किलो कोकिन लुकाई ल्याएको अवस्थामा प्रहरीले बरामद गरेको जनाएको छ।
उक्त कोकिन लिन होटल पुगेका भारतीय नागरिक वागमारे पनि पक्राउ परेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कोरियाली नागरिकले पेरुबाट कोकिन काठमाडौं ल्याएका थिए भने भारतीय नागरिकले उक्त लागूऔषध भारतको मुम्बई पुर्याउने योजना बनाएका थिए।
ब्यूरोका अनुसार लि सन् २०२६ नोभेम्बर २६ मा पेरुबाट स्पेनको म्याड्रिड र कतारको दोहा हुँदै नेपाल आएका थिए।
प्रहरीले उनीहरूको साथबाट ३ किलो कोकिन, राहदानी, आधार कार्ड र मोबाइल फोन बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














