१० मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, भारतसहित १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।
प्रस्तावित शुल्कमध्ये चीनमाथि ४० प्रतिशतसम्म, भियतनाममाथि ३५ प्रतिशतसम्म तथा अन्य देशमाथि २० देखि २५ प्रतिशतसम्म शुल्क लगाइने जनाइएको छ। नयाँ शुल्क आगामी वर्षदेखि लागू हुने अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीयरले बताएका छन्।



नयाँ शुल्क चीन, युरोपेली संघ, सिंगापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बंगलादेश, जापान र भारतमा लागू हुने बीबीसीले जनाएको छ।
यसअघि अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले घोषणा गरेका ‘लिबरेसन डे’ भन्सार शुल्कलाई गैरकानुनी ठहर गरेपछि ह्वाइट हाउसले विभिन्न देशका व्यापारिक अभ्यासबारे अनुसन्धान सुरु गरेको थियो। सोही अनुसन्धानपछि नयाँ शुल्क घोषणा गरिएको हो।
अमेरिकी व्यापार प्रतिनिधि ग्रीयरले नयाँ शुल्कले अमेरिकी श्रमिकका लागि समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने दाबी गरेका छन्। उनका अनुसार विदेशी देशका औद्योगिक रणनीति र बजार प्रभावित गर्ने अभ्यासले अमेरिकी उत्पादन क्षेत्र कमजोर बनाउँदै आएको छ।
अर्थशास्त्रीहरूले भने भन्सार शुल्कका कारण आयात लागत बढ्दा मुद्रास्फीति बढ्न सक्ने चेतावनी दिएका छन्। व्यवसायीले थप लागत उपभोक्तामाथि सार्दा वस्तुको मूल्य बढ्न सक्ने तथा विश्व व्यापारमा समेत संकुचन आउन सक्ने उनीहरूको भनाइ छ।
ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा पटक–पटक विभिन्न देशमाथि भन्सार शुल्क लगाउने वा लगाउने चेतावनी दिँदै आएका छन्।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














