कावासोती । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

गएराति लु २ च ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको लु २ त २४१७ नम्बरको ट्याक्टर ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरीको उपचारका क्रममा राति १०:३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका १३ जनामध्ये आठ जनालाई थप उपचारका लागि राति ११:५५ बजे चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ। रिफर गरिएकामध्ये मध्यबिन्दु नगरपालिका–१० अरुणखोलाका १८ वर्षीय अश्विन चौधरी र २० वर्षीय निर्मल चौधरीको अवस्था गम्भीर रहेको छ।

त्यस्तै, विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका दुई जना र सोही स्थानका अन्य चार जना गरी छ जना घाइतेको अवस्था मध्यमदेखि सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये पाँच जना भने स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि डिस्चार्ज भएका छन्। उनीहरूमा अरुणखोलाका १५ वर्षीय प्रिन्स विक, ४० वर्षीय खेमनारायण चौधरी, २६ वर्षीय घनश्याम चौधरी र अन्य दुई जना रहेका छन्।

दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ