विराटनगर । मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि भएको जबरजस्ती करणी र कुटपिटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको घटनामा संलग्न रहेको आरोपमा बाबु–छोरा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पीडित बालिकाका ५५ वर्षीय ससुरा र २३ वर्षीय श्रीमान् रहेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत कात्तिक २९ गते राति कानेपोखरी गाउँपालिका–६ स्थित आफ्नै घरमा ससुराले बालिकामाथि जबरजस्ती करणी गरेका थिए।

घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरीले आरोपित ससुरालाई पक्राउ गरी मंसिर १ गतेदेखि अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो।

त्यसपछि आरोपितका २३ वर्षीय छोराले आफ्नी आमासमेतको उपस्थितिमा बालिकालाई सोधपुछ गर्दै कुटपिट गरेका थिए। उक्त घटनाको भिडियो उनले आफ्नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ।

भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कुटपिट गर्ने तथा भिडियो सार्वजनिक गर्ने युवालाई मंसिर ९ गते पक्राउ गरेको हो। उनीमाथि विद्युतीय अपराध र बालविवाहसम्बन्धी कसुरमा समेत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीका सूचना अधिकारी एवं डीएसपी मकेन्द्रकुमार मिश्रले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिविरुद्ध हुने अपराधमा शून्य सहनशीलताको नीति अपनाएर काम गरिरहेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ