काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टी संगठन सुधार, आन्तरिक गुटबन्दी अन्त्य र आगामी स्थानीय तहको निर्वाचनको तयारीका विषयमा छलफल भएको छ ।



शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेताहरूले पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्दै नागरिकका दैनिक समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
महामन्त्री प्रदीप पौडेलले वडा तहका बैठकमा स्थानीय नागरिकका कम्तीमा तीनवटा प्रमुख समस्या अनिवार्य रूपमा छलफलको एजेण्डा बनाउनुपर्ने प्रस्ताव गरेका छन् । उनले पार्टीका नेताहरू औपचारिक बैठक र भाषणमा मात्र सीमित नभई जनताका समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने कार्यशैली अपनाउनुपर्ने बताए ।
पौडेलले वर्तमान सरकारको कार्यशैलीको आलोचना गर्दै संसद्लाई बेवास्ता गरेको, महँगी बढाएको र राष्ट्रियताका विषयमा कमजोरी देखाएको आरोप लगाए । उनले सरकारसँग जोडिएका भनिएका विभिन्न अनियमितताका विषयमा कांग्रेसले सशक्त आवाज उठाउनुपर्ने धारणा राखे ।
त्यस्तै, महामन्त्री डा. डिला संग्रौलाले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै अहिलेदेखि नै संगठनात्मक र राजनीतिक तयारीमा जुट्न आह्वान गरिन् । उनले ‘हामी तयार छौँ’ अभियानलाई देशभरका ६ हजार ७४३ वटै वडा तथा बुथ तहसम्म विस्तार गर्नुपर्ने बताइन् ।
संग्रौलाले पार्टीको आधिकारिकता स्पष्ट भइसकेकाले आन्तरिक विवादमा अल्झिनुभन्दा संगठन निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिइन् । उनले बुथ समिति अद्यावधिक, क्रियाशील सदस्यता नवीकरण तथा वितरणमा पारदर्शिता र घरदैलो अभियानमार्फत जनसम्पर्क विस्तार गर्नुपर्ने बताइन् ।
बैठकमा नेताहरूले पार्टीको संगठनात्मक संरचना बलियो बनाउँदै जनतामाझ विश्वास बढाउने र आगामी निर्वाचनका लागि प्रभावकारी तयारी गर्नुपर्ने धारणा राखेका छन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














