चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम हुने भएपछि सडक दैनिक पाँच घण्टा बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मङ्सिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द हुनेछ ।

पहिरो रोकथामका क्रममा ठूला ढुङ्गा पन्छाउने, भिरको स्लोप व्यवस्थापन गर्ने तथा किला रड ठोकेर पहिरो प्रभावित क्षेत्रलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि प्रयोग गरिनेछ । त्यस्तै, भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ र जैविक प्रविधि (बायोइन्जिनियरिङ) समेत प्रयोग गरिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

तुइनखोला क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिएपछि दीर्घकालीन समाधानका लागि विशेष प्रविधिबाट काम अघि बढाइएको हो । गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिँदै आएको छ ।

जोखिमलाई ध्यानमा राख्दै काम सञ्चालन हुने समयमा नारायणगढ–मुग्लिङ सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ