१२ मङ्सिर, सङ्खुवासभा । सङ्खुवासभामा क्षयरोगका नयाँ बिरामी पहिचान गर्न आगामी पुस १ गतेदेखि १० गतेसम्म विशेष खोज तथा पहिचान अभियान सञ्चालन गरिने भएको छ।

जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालन हुने अभियानमार्फत नयाँ क्षयरोगी खोजी गर्ने, प्रयोगशाला परीक्षणको दायरा बढाउने तथा पहिचान भएका बिरामीलाई उपचारमा ल्याउने लक्ष्य राखिएको जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन विनोद थापाका अनुसार अभियानका क्रममा नयाँ बिरामी पहिचानसँगै उपचारमा रहेका बिरामीको अवस्था र उपचारपछि निको भएकाहरूको तथ्याङ्कसमेत विश्लेषण गरिनेछ।

सङ्खुवासभामा हालसम्म ८२ जना क्षयरोगका बिरामी पहिचान भएका छन्। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म मात्रै ३० जना नयाँ बिरामी फेला परेका छन्।

कोशी प्रदेशमा भने ४ हजार ७४५ जना क्षयरोगका बिरामी रहेको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ। तीमध्ये सबैभन्दा बढी सुनसरीमा १ हजार ३३० जना र सबैभन्दा कम सोलुखुम्बुमा २१ जना रहेका छन्।

क्षयरोग नियन्त्रणका लागि समयमै रोग पहिचान, नियमित परीक्षण र औषधिको पूर्ण मात्रा सेवन आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। यसका लागि स्थानीय तह र स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनीहरूको भनाइ छ।

सङ्खुवासभाका १८ वटा स्वास्थ्य संस्थामा क्षयरोगसम्बन्धी सेवा उपलब्ध रहेको र तीमध्ये आठवटामा परीक्षण सेवा सञ्चालनमा रहेको जनाइएको छ। अभियानका क्रममा रोग पहिचान तथा उपचारसँगै संक्रमण फैलिन नदिन रोकथामका उपायलाई पनि प्राथमिकता दिइनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ