काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्रले मासिक सरदर ६२ हजार क्युआर–कोडसहितको स्मार्ट लाइसेन्स छापिरहेको जनाएको छ ।

केन्द्रका अनुसार देशभरका यातायात व्यवस्था विभाग तथा मातहतका कार्यालयबाट प्राप्त विवरणका आधारमा लाइसेन्स छपाइ भइरहेको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म दुई लाख ५० हजार लाइसेन्स छापिएको केन्द्रले जनाएको छ ।

केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाका अनुसार यातायात व्यवस्था विभागअन्तर्गतका कार्यालयबाट इमेलमार्फत प्राप्त छपाइ अनुरोध र विवरणका आधारमा दैनिक लाइसेन्स छापिँदै आएको छ । छापिएको परिमाणअनुसार सम्बन्धित कार्यालयबाट भुक्तानी हुने व्यवस्था रहेको उनले बताए ।

क्युआर–कोडसहितको स्मार्ट लाइसेन्स छपाइ सुरु भएदेखि गत असार मसान्तसम्म केन्द्रले २७ लाख ४७ हजार लाइसेन्स छापेर सम्बन्धित कार्यालयमा पठाएको जनाएको छ । विभागसँगको सम्झौताअनुसार पहिलो चरणमा १२ लाख र त्यसपछि थप १५ लाख ४७ हजार लाइसेन्स छापिएको थियो ।

केन्द्रमा लाइसेन्स छपाइका लागि नौ जना इन्जिनियर र १६ जना प्राविधिक गरी २५ कर्मचारी खटिएका छन् । केन्द्रमा राहदानी, चालक अनुमति पत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टिकरलगायत सुरक्षित सामग्री छाप्न सकिने पूर्वाधार रहेको छ ।

केन्द्र पूर्ण रूपमा सञ्चालनमा आए सुरक्षित मुद्रणका लागि नेपालबाट बाहिरिने वार्षिक करिब १० अर्ब रुपैयाँ जोगाउन सकिने अपेक्षा गरिएको छ ।

गत आर्थिक वर्षको तथ्य स्पष्ट पार्नुहोस्सम्झौताको मिति थप स्पष्ट पार्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ