ललितपुर । नेपाली कांग्रेसले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशनपछि निर्वाचन आयोगले पार्टीको विवरण अद्यावधिक गरिसकेकाले आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न आयोगलाई पत्राचार गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टीको नाम, चुनाव चिह्न र झण्डाको दुरुपयोग नगर्न अर्को पक्षलाई सचेत गराउने निर्णयसमेत गरेको सहमहामन्त्री अजयबाबु शिवाकोटीले जानकारी दिए ।

बैठकले सरकारले अध्यादेशमार्फत शासन चलाउन खोजेको तथा संविधान र लोकतान्त्रिक संस्थामाथि प्रहार गरेको निष्कर्ष निकालेको छ । त्यस्तै, होल्डिङ सेन्टरमा रहेका सुकुमबासीलाई हटाइएको विषयमा पनि कांग्रेसले विरोध जनाएको छ ।

बैठकमा पासपोर्ट र सुनकोसी–मरिन डाइभर्सन प्रकरणमा राज्यका संयन्त्र दुरुपयोग गरी आर्थिक चलखेल तथा स्वार्थ पूरा गर्न खोजिएको विषयमा समेत छलफल भएको शिवाकोटीले बताए ।

यसैगरी, स्थानीय तहको निर्वाचन तयारीका लागि देशभरका पालिकामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय बैठकले गरेको छ । बैठकका विस्तृत निर्णय शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ