हुम्ला । जिल्लाका सातवटै गाउँपालिकामा उत्पादन भएको स्याउ बिक्रीबाट किसानले यस वर्ष रु ८ करोड २६ लाख ५६ हजार आम्दानी गरेका छन् ।

कृषि विकास कार्यालय हुम्लाका अनुसार यस वर्ष जिल्लामा ५ हजार ५ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कुल ६९० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउमध्ये १ हजार ३७७ दशमलव ६ मेट्रिक टन जिल्ला बाहिर बिक्रीका लागि पठाइएको कार्यालय प्रमुख चूडामणि पन्तले जानकारी दिए ।

गाउँपालिकामध्ये सर्केगार्डबाट सबैभन्दा बढी ५०० मेट्रिक टन स्याउ जिल्ला बाहिर निकासी भएको छ । त्यस्तै, सिमकोटबाट ४००, खार्पुनाथबाट २००, चङ्खेलीबाट १४०, ताँजाकोटबाट ६७ दशमलव ६, नाम्खाबाट ५० र अदानचुलीबाट २० मेट्रिक टन स्याउ बाहिर पठाइएको छ ।

यस वर्ष हुम्लामा ए ग्रेडको स्याउ प्रतिकेजी रु ६०, बी ग्रेडको रु ५० र सी ग्रेडको रु ४० मा बिक्री भएको थियो । हुम्लाबाट पहिलोपटक ८ मेट्रिक टन फुजी स्याउसमेत जिल्ला बाहिर बिक्री भएको कृषि विकास कार्यालयले जनाएको छ ।

ताँजाकोट गाउँपालिकाबाट मात्रै ११ ट्रक स्याउ निकासी भएको छ । आगामी पाँच वर्षमा वार्षिक कम्तीमा ५५ ट्रक स्याउ निकासी गर्ने लक्ष्यसहित गाउँपालिकाले स्याउ जोन बनाएको अध्यक्ष लालकेश जैसीले बताए ।

सडक सञ्जाल विस्तारसँगै हुम्लाको स्याउले जिल्ला बाहिरका बजारमा पहुँच पाउन थालेको हो । गत वर्ष करिब रु ४ करोडको स्याउ निकासी भएकोमा यस वर्ष कारोबार दोब्बरभन्दा बढी पुगेको छ । स्याउ बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि किसानमा व्यावसायिक खेतीप्रति उत्साह बढेको व्यापारी अर्जुन फडेराले बताए ।

काँचो स्याउको निकासी रोक्न गत साउनदेखि गाउँपालिकाका कृषि प्राविधिकको सिफारिस अनिवार्य गरिएको थियो । तर, सिफारिसबिनै स्याउ बाहिर पठाइएको सूचना आएकाले वास्तविक कारोबार अझ बढी हुन सक्ने कृषि विकास कार्यालयका प्रमुख पन्तले बताए । व्यक्तिगत रूपमा खरिद गरी पठाइएको तथा जिल्लाभित्रै खपत भएको स्याउको विवरण भने तथ्याङ्कमा समावेश गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ