काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको नाम, झन्डा, लेटरप्याड, ब्यानर, चारतारे झन्डा तथा चुनाव चिह्न ‘रूख’ अनधिकृत रूपमा प्रयोग गरी गतिविधि सञ्चालन गर्ने व्यक्ति तथा समूहविरुद्ध कानुनी कारबाही अघि बढाउने निर्णय गरेको छ ।
मङ्सिर ८ गतेदेखि ११ गतेसम्म बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको आधिकारिक पहिचान र संस्थागत मर्यादा कायम राख्न यस्तो निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।



कांग्रेसको नाम र चुनाव चिह्न प्रयोग गरी विभिन्न भेला तथा महाधिवेशनका नाममा गतिविधि भइरहेकोप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको पौडेलले बताए । यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचानमा असर पार्नुका साथै नागरिक, पार्टी सदस्य तथा शुभेच्छुकमा भ्रम सिर्जना गरेको उनको भनाइ छ ।
पौडेलका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम कांग्रेसको केन्द्रीय कार्यसमितिमा भएको परिवर्तन तथा विधान संशोधनको विवरण मङ्सिर ८ गते निर्वाचन आयोगबाट अद्यावधिक भइसकेको छ ।
उनले नेपाली कांग्रेस वि.सं. २००३ सालमा स्थापना भई संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा नियमावली, २०७४ बमोजिम निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल रहेको स्पष्ट पारे ।
त्यस्तै, २०८२ पुस २७ देखि ३० गतेसम्म काठमाडौँमा सम्पन्न केन्द्रीय विशेष महाधिवेशनको म्यान्डेट तथा विधानको धारा ४३ अनुसार २०८३ असोज १६ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न १५औँ नियमित महाधिवेशनबाट गगनकुमार थापाको सभापतित्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको उनले बताए ।
बैठकले यसअघि सार्वजनिक गरिएको ‘हामी तयार छौँ’ अभियान तथा त्यससम्बन्धी अवधारणा पनि स्वीकृत गरेको छ ।
त्यसैगरी, पार्टीका कार्यक्रम लामो समय चल्ने, धेरै व्यक्तिलाई आसनग्रहण गराउने र धेरै वक्ता राख्ने जस्ता गुनासोलाई सम्बोधन गर्न ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ परिमार्जनसहित पारित गरिएको पौडेलले जानकारी दिए । कार्यविधिको विस्तृत विवरण र कार्यक्रम सञ्चालनसम्बन्धी मापदण्ड तथा अवधारणा पछि सार्वजनिक गरिने उनले बताए ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














