सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन्। आगामी मङ्सिर १६ गते बिहान १० बजे सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको उद्घाटन कार्यक्रम तथा तयारीबारे जानकारी गराइएको हो। सम्मेलनमा विभिन्न मन्त्री, कर्णाली प्रदेशका मुख्यमन्त्री, खेलकुद परिषद्का पदाधिकारी तथा सरोकारवालाहरूको उपस्थिति थियो।

प्रतियोगिताका केही खेल मङ्सिर ८ गतेदेखि नै सुरु भइसकेका छन्। प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोली सहभागी छन्।

कुल ३२ खेलका ३८४ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।

यसैबीच, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले कर्णाली प्रदेश रङ्गशालामा फ्लडलाइट जडान गर्ने योजना अघि बढाइएको जानकारी दिएका छन्। रातिको समयमा पनि खेल सञ्चालन गर्न सकिने गरी चालु आर्थिक वर्षमै फ्लडलाइट जडानको प्रक्रिया अघि बढाइएको उनले बताए।

त्यस्तै, कर्णालीमा २५ देखि ३० करोड रुपैयाँको लागतमा कभर्डहल निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए। त्यसका लागि जग्गा खोजी भइरहेको र स्थानीय सरकारसँग जग्गा उपलब्ध गराउन आग्रह गरिएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ