काठमाडौं, मंसिर १२। सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टअन्तर्गत सञ्चालित परियोजनाको म्याद एक वर्ष थप गर्ने अधिकार अर्थ मन्त्रालयलाई दिएको छ।
मन्त्रिपरिषद्को बैठकले लागत नबढ्ने गरी परियोजना सम्पन्न गर्ने समयावधि एक वर्ष थप गर्न अर्थ मन्त्रालयलाई अधिकार प्रदान गरेको हो।



एमसीसीअन्तर्गतका परियोजना पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्था छ। नेपालमा २०८० भदौ १३ गतेदेखि परियोजना कार्यान्वयन सुरु भएको थियो। सम्झौताअनुसार पाँच वर्षभित्र काम सम्पन्न नभए अमेरिकी अनुदान फिर्ता जाने व्यवस्था छ।
तर, अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि सहयोगको समीक्षा हुँदा केही समय परियोजनाको काम रोकिएको थियो। त्यस्तै, त्रिशूली नदीमा आएको बाढी तथा प्राकृतिक विपद्का कारण पनि परियोजना कार्यान्वयनमा ढिलाइ भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।
यी समस्यालाई ध्यानमा राख्दै नेपाल र अमेरिका दुवै पक्ष परियोजनाको म्याद एक वर्ष थप गर्न सहमत भएका हुन्।
यसअघि एमसीए नेपालले म्याद थपका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो। सोही प्रस्तावका आधारमा अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा निर्णयका लागि पेस गरेको थियो।
अब नेपालका तर्फबाट म्याद थपको अनुरोध एमसीसी बोर्डमा पठाइनेछ। आगामी डिसेम्बरमा बस्ने बोर्ड बैठकले यसबारे निर्णय गर्ने सम्भावना रहेको मन्त्रालय स्रोतले जनाएको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














