काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आगामी मङ्सिर १७ गते गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गरेका छन्।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षद सभालाई सम्बोधन गर्दै उनले आफ्नो विवाह सादगीपूर्ण र सीमित रूपमा आयोजना गर्ने जानकारी दिएका हुन्।



गृहमन्त्री गुरुङका अनुसार विवाहमा मौलिक गुरुङ कला, संस्कृति, भेषभूषा र परम्परालाई प्राथमिकता दिइनेछ। पार्टी प्यालेसमा भव्य समारोह गर्न सक्ने अवस्था भए पनि आफू र हुनेवाला श्रीमती दुवैको इच्छा परम्परागत शैलीमा विवाह गर्ने रहेको उनले बताए।
गोरखालाई विवाह स्थलका रूपमा रोज्नुको उद्देश्य समुदायको इतिहास, पहिचान र मौलिक संस्कृति संरक्षण गर्नुका साथै स्थानीय कला–संस्कृति, होमस्टे तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनु रहेको उनको भनाइ छ। उनले गोरखालाई भविष्यमा ‘वेडिङ डेस्टिनेसन’का रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरे।
विवाहमा सरकारका प्रतिनिधि तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत सीमित व्यक्तिको सहभागिता रहने अपेक्षा गरिएको उनले बताए। सीमित र सामान्य कार्यक्रम भएकाले सबैलाई निमन्त्रणा गर्न नसकिने उनको भनाइ छ।
गुरुङले विवाहलाई प्रतिष्ठा र प्रतिस्पर्धाको विषय बनाउँदै अनावश्यक ऋण लिएर भव्य भोज तथा तामझाम गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै विवाह सादगीपूर्ण हुनुपर्नेमा जोड दिए। उनले आफ्नो समुदाय, पुर्खा, इतिहास र गाउँठाउँको पहिचान जोगाउन गोरखामा विवाह गर्ने निर्णय गरेको बताए।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














