मुस्ताङ । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ ।

मुक्तिनाथ विकास समितिका अनुसार साउनदेखि कात्तिकसम्म रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको हो । यस अवधिमा नेपाली रुपैयाँ २६ लाख ५९ हजार ५५७ र भारतीय रुपैयाँ ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको छ ।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार मन्दिरमा नेपाली र भारतीय मुद्रासहित १२ राष्ट्रका मुद्रा भेटीका रूपमा प्राप्त भएका छन् । भेटीका रूपमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाई भाट ४४०, यूएई दिराम १ हजार २५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमानी रियाल पाँच, युरो एक र चिनियाँ युआन १३० प्राप्त भएको छ ।

भक्तजनले रु १०० भन्दा बढी भेटी दिन चाहेमा रसिद काटेर सहयोग गर्न सक्ने व्यवस्था छ भने रु १०० भन्दा कम रकम दान पेटिकामा स्वेच्छिक रूपमा जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ ।

समितिका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात रहेको छ । उक्त रकम कृषि विकास बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेका खातामा जम्मा हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ