काठमाडौँ । नेपाली कांग्रेसले सरकार विधिको शासनको सट्टा स्वेच्छाचारिता र शासकीय अराजकतातर्फ उन्मुख भएको आरोप लगाएको छ।
पार्टी केन्द्रीय कार्यसमितिको मङ्सिर ८ देखि ११ गतेसम्म बसेको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले सरकारका पछिल्ला गतिविधिप्रति गम्भीर आपत्ति जनाए।



कांग्रेसले प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ गतेका घटनासँग जोडिएका संवेदनशील विषयमा पर्याप्त संसदीय छलफल र सार्वजनिक विमर्शबिना ल्याइएका अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ। साथै, संसद्को अधिवेशन तत्काल आह्वान गर्न र संवैधानिक सीमा तथा संस्थागत मर्यादाको पूर्ण पालना गर्न सरकारलाई आग्रह गरेको छ।
पौडेलले संविधानबाट प्राप्त अधिकार प्रयोग गर्ने तर संविधानले तोकेका सीमा र दायित्व स्वीकार नगर्ने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउने बताए। उनले कार्यपालिकाले व्यवस्थापिका, संवैधानिक निकाय तथा राज्यका विभिन्न अंगमाथि हस्तक्षेप र नियन्त्रणको प्रयास गरिरहेको आरोपसमेत लगाए।
संसद्बाटै बनेको सरकारले संसद्प्रति उपेक्षा देखाएको, संसदीय समितिप्रति जवाफदेही हुन नचाहेको र पछिल्लो समय संसद्लाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको पौडेलको भनाइ छ।
निर्वाचनपछि नयाँ सरकार गठन हुँदा प्रारम्भिक चरणका कमजोरीलाई कांग्रेसले अनुभवको कमी ठानेर संयमता अपनाएको उनले स्मरण गरे। तर, पछिल्ला गतिविधि हेर्दा ती कमजोरी अनुभवको कमी वा संयोग मात्र नभई सरकार सञ्चालन गर्ने नेतृत्वको सोच, चरित्र र प्रवृत्तिको अभिव्यक्ति भएको गम्भीर आशङ्का उत्पन्न भएको उनले बताए।
संविधान, लोकतन्त्र, विधिको शासन, राष्ट्रिय स्वाभिमान, अर्थतन्त्र र जनजीविकाका सवालमा सरकार गलत बाटोमा अघि बढेको भन्दै पौडेलले अब कांग्रेस अझ दृढ, मुखर र सशक्त रूपमा प्रस्तुत हुने बताए।
“रचनात्मक प्रतिपक्ष हुनु भनेको सरकारको स्वेच्छाचारिता सहनु होइन,” पौडेलले भने, “गलत क्रियाकलापविरुद्ध कांग्रेस सशक्त रूपमा उभिन्छ।”
कांग्रेसले सरकारलाई आफ्नो कार्यशैली सच्याएर संवैधानिक मर्यादा, संसदीय अभ्यास र विधिको शासनको पालना गर्नसमेत आग्रह गरेको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














