धनुषा । जनकपुरधाममा आयोजना हुने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको निमन्त्रणा दिन जनकपुरधामबाट एक टोली भारतको अयोध्या प्रस्थान गरेको छ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहसहित जानकी मन्दिर, उपमहानगरपालिका, विश्व हिन्दु परिषद् तथा नागरिक समाजका प्रतिनिधि सम्मिलित टोली अयोध्या गएको हो।

टोलीले आजदेखि औपचारिक रूपमा यात्रु सेवा सुरु गरेको सरयू–कमला एक्सप्रेस रेलमार्फत यात्रा गरेको छ। टोलीले निमन्त्रणासँगै लत्ताकपडा, गरगहना, भाँडाकुँडालगायतका सामग्रीसमेत अयोध्या लगेको छ।

प्रमुख साहले विवाहपञ्चमी महोत्सवले जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने बताए। त्रेतायुगमा राजा जनकले सीता–राम विवाहका लागि अयोध्याका राजा दशरथलाई निमन्त्रणा पठाएको परम्परालाई पुनः जीवन्त बनाउन आफूहरू अयोध्या जान लागेको उनले बताए।

जनकपुरधाममा हरेक वर्ष साताव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सवमा सीता–राम विवाहको धार्मिक परम्परालाई विशेष उत्सवका रूपमा मनाउने गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ