१२ मंसिर, चितवन । नारायणी नदीमा निर्माणाधीन सिग्नेचर पुलको कामले गति नलिएपछि भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले ठेक्का तोड्ने चेतावनी दिएका छन् ।

निर्माणस्थलको अनुगमनका क्रममा मन्त्री लम्सालले पुलको भौतिक प्रगति निकै कम देखिएपछि ठेकेदार कम्पनीलाई काममा तीव्रता दिन निर्देशन दिएका हुन् । उनले अर्को पटक अनुगमनमा आउँदा काम निर्धारित तालिकाअनुसार अघि बढ्नुपर्ने नभए ठेक्का तोडिने बताए ।

पुल निर्माणको जिम्मा तुन्दी कन्स्ट्रक्सनले लिएको छ । कम्पनीले मूल्य अभिवृद्धि करसहित एक अर्ब ६८ करोड ७६ लाख रुपैयाँभन्दा बढीमा ठेक्का पाएको हो । सन् २०२३ जुन २ मा चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

तर, निर्माण सम्पन्न गर्ने म्याद सकिन करिब छ महिना बाँकी रहँदा हालसम्म जम्मा ३ प्रतिशत मात्रै काम भएको बताइएको छ । बाढीका कारण निर्माण रोकिएको भन्दै ठेकेदारले काम अघि बढाउन सकेको छैन ।

४२० मिटर लामो र साढे सात मिटर फराकिलो हुने पुलमा दुई लेन र फुटपाथ निर्माण गरिनेछ । आकर्षक दुई मुख्य पिलरसहित निर्माण हुने पुलको तल्लो भागबाट साना पानीजहाजसमेत आवतजावत गर्न सक्ने गरी डिजाइन तयार गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ