काठमाडौं । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवा प्रदायकले गुणस्तरीय सेवा दिएरमात्र नाफा कमाउनुपर्ने बताएका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा सेवाको गुणस्तर’ विषयक कार्यक्रममा बोल्दै उनले दूरसञ्चार सेवा नागरिकको आधारभूत आवश्यकतासँग जोडिएकाले यसको गुणस्तरमा कुनै सम्झौता गर्न नसकिने बताए।



मन्त्री तिमिल्सिनाले सेवा प्रदायकले लागत घटाउने र नाफा बढाउने विषयलाई मात्र प्राथमिकता नदिई उपभोक्ताप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिए। अनुमतिपत्र लिँदा गरेका प्रतिबद्धता र कानुनी दायित्व पूरा गर्नुपर्ने उनको भनाइ थियो।
उनले कानुन उल्लंघन गर्ने सेवा प्रदायकमाथि नियामक निकायले आवश्यक कारबाही गर्नुपर्ने बताए। दूरसञ्चार क्षेत्रमा सरकारलाई बुझाउनुपर्ने अर्बौं रुपैयाँ बक्यौता नतिर्ने, अनुमतिपत्रको अवधि सकिएपछि पनि सेवा विस्तार गर्ने तथा कानुनी दायित्व पूरा नगर्ने प्रवृत्तिप्रति पनि उनले असन्तुष्टि जनाए।
मन्त्री तिमिल्सिनाले अनुरोध र पत्राचारले मात्र जवाफदेहिता कायम नहुने भन्दै गल्ती गर्नेले त्यसको जिम्मेवारी र परिणाम बेहोर्ने व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताए।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार सेवाको गुणस्तर सुधार गर्नु सेवा प्रदायक, नियामक निकाय र सरकारको साझा जिम्मेवारी भएको बताए।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














