काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको नाम, झन्डा र चुनाव चिह्न रुखको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई आग्रह गर्ने प्रस्ताव गरिएको छ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा केन्द्रीय सदस्यहरूले साङ्गठनिक कार्यभार, ‘नेपाली कांग्रेस तयार छ’ अभियान, स्थानीय निर्वाचन, प्रतिपक्षको भूमिका तथा सरकारका गतिविधिबारे धारणा राखेका छन्।

बैठकमा बोल्दै केन्द्रीय सदस्य बलदेव तिमिल्सिनाले एउटै पार्टीको नाम, झन्डा र चुनाव चिह्नको दुरुपयोग गरी अन्यत्र गतिविधि सञ्चालन भइरहेको भन्दै त्यसलाई रोक्न निर्वाचन आयोगलाई आग्रह गर्ने प्रस्ताव राखेको जानकारी दिए।

उनले विगतमा रुख चिह्नबाट निर्वाचित भएका स्थानीय, प्रदेश तथा सङ्घीय तहका जनप्रतिनिधि र पदाधिकारीमध्ये पार्टीको मूल प्रवाहमा नरहेका तथा महाधिवेशन र नियमित प्रक्रियामा सहभागी नभएकालाई सचेत गराउनुका साथै आवश्यक कारबाही गर्नुपर्ने धारणा राखे।

बैठकमा भोटेकोसी तथा बूढीगण्डकी बाढीपीडित र विस्थापित सुकुमबासीको अवस्था, १५औँ महाधिवेशनबाट पारित नीति तथा दृष्टिकोण र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको छ।

त्यस्तै भ्रातृ संस्थाको सबलीकरण, बाँकी जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्ने, नागरिकका दैनिक जीविकासँग जोडिएका समस्या सम्बोधन गर्ने तथा वडा र टोल तहसम्म पार्टी संगठन विस्तार गरी राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने विषयमा पनि सदस्यहरूले धारणा राखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ