काठमाडौं, १० मंसिर। एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालले विश्व एड्स दिवसको अवसरमा सांगीतिक कन्सर्ट २०२६ आयोजना गर्ने भएको छ। संस्थाले बुधबार काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेसको संगम स्वर्णिम हलमा पत्रकार सम्मेलन गर्दै कन्सर्टबारे जानकारी दिएको हो।

आगामी डिसेम्बर १ अर्थात् मंसिर १६ गते आयोजना हुने उक्त कन्सर्टमार्फत संगीत र मनोरञ्जनका माध्यमबाट एचआईभी/एड्ससम्बन्धी जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको एएचएफ नेपालले जनाएको छ।

कन्सर्टले एचआईभी परीक्षणको महत्व, समयमै उपचार गर्नुपर्ने आवश्यकता र एचआईभी संक्रमित व्यक्तिहरूप्रति सहयोगी वातावरण निर्माण गर्न सन्देश प्रवाह गर्नेछ।

त्यसैगरी, एचआईभी/एड्ससँग जोडिएका सामाजिक लाञ्छना र भेदभाव अन्त्य गर्दै खुला संवाद तथा समावेशी समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्य रहेको संस्थाले जनाएको छ।

कार्यक्रममा विभिन्न कलाकारका सांगीतिक प्रस्तुति रहनेछन्। आयोजकका अनुसार इच्छुक सहभागीले खल्ती एपमार्फत निःशुल्क नाम दर्ता गरी कार्यक्रममा सहभागी हुन सक्नेछन्।

कार्यक्रमको व्यवस्थापन तथा सञ्चार समन्वय मार्स एड्भर्टाइजिङ एन्ड रिसर्च प्रालिले गर्नेछ। संगीत, जनसहभागिता र जनचेतनामूलक गतिविधिमार्फत विश्व एड्स दिवस मनाउने उद्देश्यले कन्सर्ट आयोजना गर्न लागिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ