विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले पार्टीले ‘ओमकार परिवारसहितको सनातन हिन्दु राष्ट्र’को एजेन्डा अघि सार्नुपर्ने माग गरेका छन्।

कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै पराजुलीले नेपालको ऐतिहासिक सभ्यता, सनातन परम्परा, वैदिक संस्कृति र धार्मिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनका लागि पार्टीले सनातन हिन्दु राष्ट्रबारे स्पष्ट दृष्टिकोण बनाउनुपर्ने बताएका हुन्। यसबाट राष्ट्रको सर्वोपरी हित र समुन्नति कायम गर्न सहयोग पुग्ने उनको तर्क छ।

पराजुलीले पार्टीभित्रका मतभेद बिर्सेर संगठनलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिए। साथै, ‘हामी तयार छौँ’ अभियानलाई भाषणबाजीमा सीमित नराखी व्यवहारिक र परिणाममुखी बनाउनुपर्ने उनको भनाइ छ।

उनले स्थानीय तह निर्वाचनका लागि ‘प्राइमरी निर्वाचन प्रणाली’ विकास गर्नुपर्ने, टिकट वितरणमा हुने आर्थिक चलखेल र अन्तर्घात रोक्न लोकप्रियता, नैतिकता र चरित्रका आधारमा उम्मेदवार छनोट गर्नुपर्ने माग गरे। उम्मेदवारलाई संविधान, अर्थनीति, कूटनीति र सार्वजनिक प्रशासनबारे अनिवार्य प्रशिक्षण दिन ‘लिडरसिप एकेडेमी’ सञ्चालन गर्नुपर्ने सुझाव पनि उनले दिए।

पराजुलीले न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक निकायमा सरकारी हस्तक्षेप हुन नहुने, उद्योगी–व्यवसायीमाथिको धरपकड तथा प्रेस स्वतन्त्रताविरोधी कानुनविरुद्ध कांग्रेस सशक्त रूपमा उभिनुपर्ने बताए।

सहकारी पीडितको रकम फिर्ता, भूमिहीन तथा सुकुमबासीको दीर्घकालीन समाधान र आर्थिक अभावका कारण अस्पतालमा उपचार रोक्नुपर्ने अवस्था अन्त्य गर्न पनि पार्टीले पहल गर्नुपर्ने उनको माग छ।

उनले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण, सीमा विवाद तथा ईपीजी प्रतिवेदन कार्यान्वयनका विषयमा कांग्रेसले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए। साथै, संघीय संरचनाको प्रभावकारिताबारे गम्भीर विमर्श गर्दै प्रत्येक १० वर्षमा स्थानीय तहको संख्या, सीमा र संरचनाको वैज्ञानिक पुनरावलोकन गर्नुपर्ने प्रस्ताव पनि राखे।

स्थानीय सरकारलाई थप अधिकारसम्पन्न र आर्थिक रूपमा सक्षम बनाउन स्थानीय तहमा गैरदलीय निर्वाचनको व्यवस्था तथा प्रदेश संरचना परिमार्जनका लागि राष्ट्रिय सहमति कायम गर्नुपर्ने उनको सुझाव छ। उत्पादनमुखी अर्थतन्त्र, कृषि आधुनिकीकरण, युवाको विदेश पलायन रोक्ने राष्ट्रिय रोजगार नीति र लगानी सुरक्षासहितको ठोस विकास ढाँचा तयार गर्नुपर्नेमा पनि उनले जोड दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ