ललितपुर । ललितपुरमा चोरीको घटनामा संलग्न तीन जनालाई प्रहरीले २४ घण्टाभित्र पक्राउ गरेको छ। ललितपुर महानगरपालिका–१५ स्थित भल्पा मन्दिर नजिकै भएको चोरी घटनामा संलग्न उनीहरूलाई प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार गत बुधबार राति बाँकेको कोहलपुर नगरपालिका–१० घर भई हाल भल्पा मन्दिर नजिक डेरा गरी बस्ने २६ वर्षीय मनिष श्रेष्ठको फ्ल्याटमा चोरी भएको थियो। कोही नभएको मौका छोपी ढोकाको इनडोर ताल्चा फुटाएर सुन, चाँदी, नगद तथा अन्य जिन्सी सामान चोरी गरिएको थियो।

घटनाबारे सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुर तथा मातहतको प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा चोरीमा संलग्न तीन जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–६ सुन्धारा घर भई हाल भक्तपुरको पुरानो बसपार्क बस्ने ३६ वर्षीय प्रवेश मुनि शाक्य, ललितपुर महानगरपालिका–७ दुपाट बस्ने ३७ वर्षीय अमित महर्जन र काभ्रेको नमोबुद्ध नगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–७ ग्वार्को बस्ने २९ वर्षीय गोविन्द लामा रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट नगद एक लाख ८५ हजार ६२० रुपैयाँ, चार थान मोबाइल फोन तथा सुन, चाँदी र अन्य धातुका विभिन्न गरगहना बरामद गरेको जनाएको छ।

बरामद गरिएका गरगहनामा औँठी, टप, रिङ, झुम्का, तिलहरी, सुनको बाला, हारलगायतका सामग्री रहेका छन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ